१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारको काम कारबाहीबारे समिक्षा गर्ने कोइराला पक्षको निष्कर्ष


182
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रिय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रिय समिति बैठकमा समिक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भिर समिक्षा केन्द्रिय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ ।

स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत्त बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताउनुभयो ।

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ । पार्टीको भातृ संस्था र विभागहरुलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरुबीच छलफल भएको नेता भण्डारीले बताउनुभयो ।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो । कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ ।

पार्टीको विधान अनुसार विभागहरु समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक भोली दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको छ ।