
काठमाडौं । चार दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न लिउ बालुवाटार पुग्नुभएको हो । दुई पक्ष बीचको छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीलाई भेट्नुअघि चिनियाँ उच्चस्तरीय टोलीले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि भेट गरेको थियो । लिउले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान उहाँकै निवास बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
६ सदस्यीय चिनियाँ टोली नेतृत्व गरेर लिउ एअर चाइनाको विमानबाट आइतबार बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताले स्वागत गर्नुभएको थियो । गत महिना मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख बन्नुभएका लिउको चीनमा वरिष्ठ मन्त्री सरहको हैसियत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्