१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


कांग्रेस केन्द्रीय समितिमा भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव


26
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

सोमबार सुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रश्ताव पेश भएको हो ।

बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माणको प्रस्ताव पेश भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

त्यसैगरी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रीत भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

प्रवक्ता महतले सोमबारको बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचारप्रसार समितिले गरेको कामको प्रतिवेदन पेश भएको जानकारी दिनुभयो ।

प्रवक्ता महतले पार्टीको सम्पूर्ण भ्रातृ संगठनहरू पूर्ण रूपमा क्रियाशिल र गतिशिल हुने बताउनुभयो । उहाँले नेपाली कांग्रेस नेतृत्वको सरकारले जनताप्रति समर्पित हुँदै जनताका तत्कालिक आवश्यकताहरूलाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउनुभयो ।

प्रवक्ता महतले पार्टी केन्द्रीय समितिको बैठक केही दिनसम्म चल्ने जानकारी दिनुभयो । समसामयिक राजनीतिक विषयवस्तुहरूको सन्दर्भमा पार्टीका केन्द्रीय सदस्यहरूले धारणा राख्ने र समग्रमा केन्द्रीय समितिले धारणा बनाउने पनि उहाँकाे भनाइ छ ।