१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


चुनावी गठबन्धनका विषयमा कांग्रेस प्रदेश प्रमुख विभाजित


351
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु भएको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्था सम्बन्धमा छलफल गर्न बोलाइएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा पार्टी उपसभापति एंव स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै, बैठकमा प्रवक्ता एंव स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले समितिको प्रतिवेदन पेस गर्नुभएको छ ।

बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचन सम्बन्धी प्रदेशगत ब्रिफिङ गर्नुभएको छ । ब्रिफिङका क्रममा स्थानीय चुनावमा गठबन्धन गरिएको बारे प्रदेश सभापतिहरु विभाजित देखिएका छन् । बैठकमा प्रदेश १ का सभापति उद्धव थापाले गठबन्धनको प्रशंसा गर्नुभएको छ भने गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धनको आलोचना गर्नुभएको छ । केन्द्रीय समिति बैठकमा एक नम्बर प्रदेशका सभापति उद्धव थापाले नेपाली काँग्रेस गठबन्धनकै बलमा प्रदेशमा एक नम्बर बन्न सफल भएको जिकिर गर्दै आगामी चुनावमा पनि एकता गरेर जानुपर्ने सुझाव दिनुभएको छ । गण्डकी प्रदेशका सभापति शर्माले भने गठबन्धन कार्यान्वयन नभएको गुनाशो गर्दै गृहकार्य नगरी गठबन्धन गर्दा गठबन्धनबाटै सहयोग नभएको टिप्पणी गर्नुभयो । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले टिकट बाँड्ने विषयमा केन्द्रबाट हस्तक्षेप भएको गुनासो गर्दै पार्टी विधि र विधानसम्मत चल्नुपर्ने बताउनुभयो । प्रदेशलाई पंगु बनाउने काम भएको भन्दै सभापति पुनले अधिकार नदिने हो भने प्रदेश समिति खारेज गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई १२ बुँदे ध्यानाकर्षण गराउँदै तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीको शैलीलाई किन निरन्तरता दिन खोजेको भन्दै प्रश्न गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धनले कांग्रेसभन्दा अरु पार्टीलाई फाइदा भएको र गठबन्धनले खासै काम नगरेको जिकिर गर्दै डा.कोइरालाले सुक्ष्म समीक्षा गरेर आगामी निर्वाचनको लागि गम्भिर बन्नुपर्ने धारणा राख्नुभयो ।

सोमबारको बैठकमा ७ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ । बैठक मंगलबार दिउँसो १ बजे पुनः बस्ने छ । केन्द्रीय समिति बैठक अघि संस्थापन इतर समूहका भातृसंस्थाका कार्यकर्ताहरुले सभापति देउवाविरुद्ध प्रदर्शन गरेका थिए ।