१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै


195
Shares

इलाम । इलाममा धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै गएकाे छ ।

डोको भरी पहेलपुर केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको चिउरा, हातभरी चुरा र गुन्यू चोली लगाएका महिलाले हातमा बोकेको धानको बीउले असारको झल्को दिने गर्दथ्यो । तर अहिले धान रोपाइँमा परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक पनि हराउँदै गएको छ ।

यो गीतको भाका जब रेडियो र टेलिभिजमा गुञ्जन थाल्छ । तब रोपाइँको झझल्को आउन थाल्छ । कुनै बेला असार लागेसँगै गुञ्जायमान हुने इलामका खेतहरुमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति हराउँदै जान थालेको छ । असार महिनामा मानो रोपेर मुरी उब्जाउने किसानहरु यति बेला धान रोपाइँमा व्यस्त छन् । यस वर्ष समयमा नै पानी परेपछि धान रोपाइँमा इलामकाका किसानलाई चटारो परेको हो ।

तर, रोपाइँमा उहिलेको जस्तो रौनकता कतै भेटिदैन् । असारे भाका कतै सुनिदैन भने रोपार र बाउसेहरुले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि बिरलै मात्र देखिन्छ । खेत हिल्याउन, दाँदे लगाउन र रोप्नसमेत आधुनिक कृषि उपकरणको प्रयोग हुन थालेपछि रोपाइँको रौंनकता सीमित भएको बुढापाकाको भनाइ छ । उहिले रोपाइँमा खेतालाहरुले चोयाबाट बनाएको घुँम, जुटको बोरा ओडेर असारे गीत गाउँदै रोपाइँ गर्दथे । तर अहिले ती दिन एकादेशको कथा बन्दै गएको इलामका किसान अग्नि प्रसाद राउतको भनाइ छ ।

रोपाइँका बाउसे र रोपारहरू एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाई बिर्सन खोज्छन् । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको आवाजसँगै असारे भाका गुञ्जदा सुनिरहुँ जस्तो हुन्छ । तर नयाँ पुस्ताका लागि असारे भाका इतिहास बन्न थालेको छ ।

असारे भाका ठाउँ र समुदाय अनुसार फरक-फरक लयमा गाइने भएपनि सबै गीतले किसानको मर्म पोख्छ । पछिल्लो समय असारे गीत गाउदै बेठी लगाउने चलन हराउदै गएकोमा अघिल्लो पुस्तामा निराशा देखिएको छ । त्यसैले पनि परम्परागत सकारात्मक कुराको अनुशरण गर्ने अहिलेका युवा पुस्तालाई असारे भाका बुझाउँदै र सिकाउँदै त्यसलाई निरन्तरता दिन भने जरुरी देखिन्छ ।