
सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु जाने स्थलमार्गमा पर्ने सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने मोटरेबल पुलकाे निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
गत जेठको अन्तिममा शिलान्यास गरी निर्माण थालिएको पर्यटकीय मार्गमा पर्ने उक्त पक्की पुल महादेव खिम्ती हिराचन जेभीले ७ करोड ६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माणको जिम्मा लिएको हो । ५० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको पुल फ्रि स्ट्रेच प्रविधिबाट बन्ने पुलको एकापट्टिको पिलर तयार भइसकेको निर्माण कम्पनीका प्रतिनिधि बुद्धिबहादुर मगरले बताउनुभयो ।
रातमा समेत काम गरेर तीव्र गतिमा निर्माण भइरहेको र गुणस्तरीय काम गरी पुल समयमै निर्माण सम्पन्न गर्ने उहाँले बताउनुभयो । सम्झौता केही समय अघि भएपनि निर्माणस्थलसम्म पुग्ने सडकमा यातायातका साधन चल्न नसकेका कारण सामान ढुवानी गर्न नपाउँदा निर्माण सुरू गर्न केही ढिला भएपनि अब फटाफट काम गर्ने उहाँको भनाइ छ ।
माप्य हुँदै खुम्बु जोड्ने सडकखण्ड भएकाले दूधकोशी नदीमाथि बन्ने यो मोटरेबल पुलले माथिल्लो सोलुको पर्यटन क्षेत्रमा धेरै सहयोग पुग्ने सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । खुम्बु जोड्ने छोटो मार्गको रूपमा यो सडक रहेकाले तोकिएको समयमा गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई मेयर शेर्पाले निर्देशन दिनुभयो ।
पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा सहज ढुवानी हुने भएकाले दैनिक उपभोग्य सामाग्रीहरुको मूल्य समेत सस्तिने स्थानीय बताउँछन् । साेही पुल निर्माण पश्चात सदरमुकाम आवतजावत गर्न तथा पर्यटकलाई खुम्बु जान स्थलमार्गबाट धेरै सहज हुने भन्दै खरिखोलाका भलाकाजी मगरले खुशी समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्