१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रियसभा शून्य समयमा त्रिविको बेथितीदेखि भानुभक्तका जन्मस्थानसम्मका कुरा

स्नातक र स्नातकोत्तर तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग

286
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले समसामयिक र जनचासोका सवालमा आफ्ना कुरा उठाएका छन् ।

मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले विश्वविद्यालयको प्रश्नपत्रमाथि उठेका प्रश्न, तुइन विस्थापन, तीन तहको सरकारबीच नभइरहेको समन्वय र भानुभक्तको जन्मस्थलमाथि गरिएको उपेक्षाको सवाल उठाएका हुन् ।

सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र सम्बन्धी भएको बेथिती रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएकाले बेथिती रोक्नुपर्नेमा जोड दिनुभयो ।

स्नातकोत्तर र स्नातक परीक्षामा प्रश्नपत्र अङग्रेजीमा तथा उत्तर लेख्दा नेपाली र अङग्रजी दुवैमा खुला भएकाले प्रश्नपत्र पनि नेपाली र अङग्रेजी दुवैमा राख्न माग गर्नुभयो ।

सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार नचलेको बताउनुभयो । उहाँले तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता, सहअस्थीत्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना समेत नभएको बताउनुभयो ।

सांसद इन्दु कडेरियाले वर्तमान सरकारले तुइन विस्थापित गर्ने कार्यलाई प्राथमिकता नदिँदा वर्षैपिच्छे महाकाली नदिनमा तुइनबाट खसेर मानिसहरूले ज्यान गुमाउनु परेको बताउनुभयो । सरकारले तत्काल महाकाली नदिको ११ स्थानमा पुल निर्माण कार्य अघि बढाउन माग गर्नुभयो ।

सांसद खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताउनुभयो । ललितपुरको भैंसेपाटीको ५ सय मिटर सडक लाथालिङ्ग भएर ६ वर्षदेखि हिलाम्मे हुँदा समेत सरकारको ध्यान नगएको भन्दै उहाँले भौतिक पूर्वाधार मन्त्रीले जवाफ दिनुपर्ने माग राख्नुभयो ।

त्यस्तै सांसद नन्दा चपाईंले शिशु अवस्थामा हुर्कंदै गरेको संघीयतामाथि प्रश्न उठ्ने गरी प्रदेश सरकारले काम गरेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बुबाआमाको नाममा प्रतिष्ठान खोलेर कोषमा बजेट मार्फत रकम जम्मा गर्नु दुःखद भएको बताउनुभयो ।

सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गरेको बताउनुभयो । उहाँले भानुभक्तको जन्म स्थानलाई सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको बताउनुभयो ।

सांसद पन्थले आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यिक पर्यटकको प्रचुर सम्भावना भएका भन्दै प्राथकितामा राख्न आग्रह गर्नुभयो ।