
काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको छ ।
मंगलबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको हो । उहाँले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताउनुभयो ।
सांसद देवले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नु भने मुर्खता र देशप्रतिको गद्दारी हुने बताउनुभयो । उहाँले श्रीलंकाको अहिलेको अवस्थाबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयो ।
सांसद देवले श्रीलंकाले निरन्तरको दुई दशकदेखिको गलत आर्थिक नीति, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो । ऋण लिने सन्दर्भमा अर्थशास्त्री, राज्य सञ्चालक र मुख्य राजनीतिक शक्तिहरूबीच बहस हुनुपर्ने उहाँको भनाइ छ ।
सांसद देवले नेपाल सरकारले अहिले लिएको आर्थिक नीति सहि भएको बताउनुभयो । सरकारले उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने नीति लिनु सहि भएको उहाँको भनाइ छ ।
सांसद देवले विगतमा र अहिले सरकार चलाउने नेताहरूले आफू दलाल नोकरशाही पुँजीवादको घेरामा रहे÷नरहेकोमा भने समीक्षा गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्