
एजेन्सी । देश छोड्न लागेको श्रीलंकाका पूर्व अर्थमन्त्री बासिल राजापाक्षेलाई त्यहाँका अधिकारीहरूले रोकेका छन् ।
कोलम्बो विमानस्थलमा राजापाक्षे देश छाडेर जान लागेको थाहा पाएपछि त्यहाँका भएकाहरूले विरोध गरेका थिए । सामाजिक सञ्जाल भाइरल भिडियोमा यात्रुहरूले बासिल राजापाक्षेलाई विमानस्थलमा देखेपछि विरोध गरेका थिए ।
प्रदर्शनकारीले उनलाई देश छाडेर जान नदिन त्यहाका अधिकारीहरूसँग माग गरेका थिए । श्रीलंकाको अध्यागमन अधिकारीहरूले राष्ट्रपतिका भाइसमेत रहेका पूर्व अर्थमन्त्री बासिललाई विमानस्थलमा रोकेको बताएका छन् ।
इन्धन, खाद्यान्न र अन्य जरुरी साधानको अभावको विरोध प्रदर्शन चलिरहेको समयमा बासिल राजापाक्षेले अप्रिलको सुरुमा पदबाट राजीनामा दिएका थिए । उनले जुनमा आफ्नो सांसद पद पनि छाडेका थिए ।
बासिल राजापाक्षे महिन्दा राजापाक्षे र गोटाबाया राजापाक्षेको भाइ हुन् । उनी आफ्नो दाइ अर्थात् हालसम्म प्रधानमन्त्री रहेका महिन्दा राजापाक्षे सरकारका अर्थमन्त्री थिए । त्यसअघि आफ्नो दाइको दोस्रो कार्यकालमा पनि उनी आर्थिक विकास मन्त्री बनेका थिए ।
बासिल १९७७ मा नै आम निर्वाचनमा सहभागी भए पनि पराजित भएका थिए । २००५ मा महिन्दा राजापाक्षेले निर्वाचन जितेर राष्ट्रपति बनेपछि उनलाई सांसदमा मनोनित गरिएको थियो ।
२०१० मा भएको संसदीय निर्वाचनमा भने उनी विजयी भए । पछिल्लो पटक उनलाई फेरि सांसदमा मनोनित गरिएको थियो । यसपटक भने उनलाई सांसद बनेलगत्तै अर्थमन्त्रीको समेत जिम्मेवारी दिइएको थियो ।
बासिल राजापाक्षेसँग अमेरिकी नागरिकता समेत भएकाले संविधान नै परिवर्तन गरेर सांसद बनाइएको थियो । त्यसअघि कानूनमा दोहोरो नागरिकता हुने व्यक्ति सांसद बन्न नपाइने थियो ।
बिग्रँदो आर्थिक अवस्थाका बीच बासिल संसद आउन छाडेका थिए । उनीमाथि भ्रष्टाचारको पनि कयौं आरोप लागेको छ ।
२०१५ अप्रिलमा उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । उनीमाथि दुई अन्य व्यक्तिसँग मिलेर राज्यको सम्पत्ति हडपेको आरोपसमेत लागेको छ ।
प्रतिक्रिया दिनुहोस्