१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु


117
Shares

काठमाडौं । साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु भएको छ ।

२०९ औं भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलबार पुलचोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरी ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो ।

नेपाली साहित्य जगतमा उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’ को प्रकाशन २०७५ मंसिरदेखि रोकिएको थियो । २०३९ पुसबाट प्रकाशन प्रारम्भ भएको ‘गरिमा’ साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै पूर्णाङ्क ३९६ निस्किएर बन्द भएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘गरिमा’ को साउन अंक पुनर्विमोचन गर्नुभयो । वि.स. १९७० मा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रुपान्तरित हुँदा यो दक्षिण एशियाकै पहिलो साहित्यिक-सांस्कृतिक संस्था बनेको थियो ।

साहित्य सेवा र पाठ्यपुस्तक निर्माण, प्रकाशन गर्ने नेपाली भाषा प्रकाशिनी समितिले २०२१ सालमा साझा प्रकाशनको नाममा उत्तराधिकारसहित निरन्तरता पाएको थियो । ११० वर्षको इतिहास बोकेको साझा प्रकाश आफूले गर्दै आएका कामबाट वञ्चित भएपछि अहिले गहिरो आर्थिक समस्या झेलिरहेको छ ।

६० प्रतिशत शेयर नेपाल सरकारमा रहेको यस सहकारी संस्थामा १५ सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकार, शिक्षासेवी र संस्कृतिकर्मी शेयर सदस्य छन् । तर संस्था भने व्यावसायको माध्यमबिहीन भएको छ ।

पहिले पाठ्यपुस्तक निर्माण र प्रकाशनमा केन्द्रित साझा प्रकाशनलाई सरकारी नीतिअनुरुप २०२८ सालपछि पाठ्यपुस्तक वितरणमा सिमित गरिएको थियो ।