१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गहनामा लगाएको भन्सारप्रति सुनचाँदी व्यवसायीको असन्तुष्टि


13
Shares

काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

उनीहरुले यसमा सहजीकरण गर्न भन्सार विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईसमक्ष यस्तो आग्रह गरेको हो ।

महासंघका अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको गहनामा भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारवाट आवत–जावत गर्दा भन्सारमा अवरोध गर्न नहुनेधारणा राख्नुभयो ।

विद्यमान ब्यवस्था अनुसार विदेशवाट नेपाल आउँदा प्रत्येक ब्यक्तिले ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने ब्यवस्था छ । तर गरगहनाको हकमा यस्तो सीमा निर्धारण गरिएको छैन ।

नेपालवाट वाहिर जाँदा गरगहना लगाएर जान पाइने तर वाहिरवाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइए त्यसको समेत भन्दार लिने गरेको पाइएपछि ब्यवसायीहरुले यसको विरोध गरेका हुन् । विभागका महानिर्देशक भट्टराईले कतिपय व्यक्तिले गहनाको बाहानामा सुन नै ल्याउन खोजेको भेटिएपछि यसका कडाई गर्नु परेको उल्लेख गर्नुभयो । यद्यपी ब्यवसायीका समस्याको अध्ययनगरी सम्वोधन गर्न पहल गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुुभयो ।