
कैलाली । विधि र पद्धति विपरीत बजेट ल्याएको भन्दै आफ्नै सरकारको विपक्षमा उभिएका सत्ता पक्षकै सांसद फकाउन नसक्दा सुदूरपश्चिम प्रदेश सरकारलाई बजेट पास गर्न सकस भएको छ ।
असार १ गते ३६ अर्ब बढी बजेट प्रदेशसभामा पेश गरेको प्रदेश सरकारले विधि र पद्धति विपरीत बजेट आएको भन्दै सत्तापक्ष नै बजेजविरुद्ध उभिएको छ । असार २८ गते हुँदासम्म प्रदेशसभामा बजेटमाथि छलफल नै सुरु हुन सकेको छैन ,।
असार मसान्तभित्र बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मंगलबार पनि प्रदेश सरकारले आफ्नै पक्षलाई मिलाउन सकेन । विहान ११ बजे बोलाइएको बैठकमा सत्तापक्षका १२ जना मात्रै सांसद उपस्थित भएपछि सभामुखले कोरम नपुगेको भन्दै बैठक स्थगित गर्नुभयो ।
दिउँसो ३ बजे बोलाइएको बैठकमा प्रतिपक्षी दल अनुपस्थित भएपछि बुधबारसम्मका लागि बैठक स्थगित भएको छ । सत्ता पक्ष नै संशोधनविना पास नगर्ने अडानमा बसेपछि प्रदेश सरकार संकटमा परेको नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक भरत खड्का बताउनुहुन्छ ।
प्रतिपक्षी नेकपा (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बजेट संसोधन नहुँदासम्म बैठकमा उपस्थित नहुने अडान राखेका छन् । पद्धति मिचेर ल्याइएको बजेट संशोधन हुनुपर्ने एमाले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका प्रमुख सचेतक लिलाधर भट्टको अडान छ ।
प्रदेश सरकार भने विना संशोधन बजेट पास हुने दाबी गर्छ । प्रदेशका जनताका आकांक्षाका आधारमा बजेट आएको दाबी गर्दै आर्थिक ममिला मन्त्री प्रकाश रावल सरकारले यथास्थितिमा बजेट पास हुने बताउनुहुन्छ ।
नेकपा (एकीकृत समाजवादी)का बहुसंख्यक सदस्यहरू बजेटको विपक्षमा छन् भने माओवादी केन्द्रका अधिकाशं सांसदहरू पनि विपक्षमै छन् । उता सत्तारुढ दल नेपाली कांग्रेस सुरुवाटै बजेट संसोधन गर्नुपर्ने अडानसहित एक मत छ ।
सत्तारुढसँगै विपक्षी सांसदको मोर्चाबन्दीले यथास्थितिमा प्रदेश सरकारलाई बजेट पास गर्न निकै चुनौतिपूर्ण बनेको छ ।
प्रतिक्रिया दिनुहोस्