
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा स्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् ।
जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दुरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन कार्यालय म्याग्दीद्वारा चालु आर्थिक बर्षमा पदमार्ग र चौतारो निर्माण गरिएको छ ।
यसअघि बेनीदेखि लभ्लीहिल पुग्ने पदमार्ग र उद्यान बनाइएको थियो । गण्डकी प्रदेश सरकारको सामुदायिक वनमा पर्यटन कार्यक्रममार्फत प्राप्त तीन लाख ३६ हजार बजेटबाट ४५ मिटर पदमार्ग र चौतारो निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो ।
गत वर्ष पनि वन डिभिजन कार्यालयले लभ्लीहिलमा पार्क निर्माण गरेको थियो । सोही स्थलमा ‘हरियाली–पार्क’ को निर्माण पनि भएको छ । गण्डकी प्रदेश सरकारले अघि सारेको सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण कार्यक्रमबाट लभ्लीहिलमा हरियाली पार्क बनाइएको हो ।
हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि गत वर्ष दुई वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको थियो । लभ्लीहिलमा अहिले दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्