
काठमाडौं । कम्युनिष्ट नेताहरूले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग नहोस् भन्नका लागि रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कम्युनिष्ट नेताहरूले पछिल्लो समय नेपालको गतिविधिप्रति चीनको शंका गरिरहेको र त्यहि शंकको निवारण गर्न लिउ नेपाल आएको बताए ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता लिउले जाहेर गरेको बताउनुभयो । विदेशीहरूले चीनकाविरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको उहाँले बताउनुभयो ।
खनालले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो । भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको उहाँले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयहरूका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बताउनुभयो ।
उहाँले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको सदिक्षा रहेको भन्दै पछिल्ला निर्णयहरूका कारण नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चिन्ता चीनमा रहेको बताउनुभयो ।
गजुरेलले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका वामपन्थीहरू एकै ठाउँमा आइदिउन् भन्ने चाहना राख्नु स्वभाविक भएको पनि बताउनुभयो ।
नेकपा (एमाले) का नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक चीन नीतिमा निरन्तरता खोजेको बताउनुभयो । नेपालको भूमि चीनकाबिरुद्ध प्रयोग नहोस् भन्नेमा चीन संवेदनशील देखिएको उहाँले बताउनुभयो ।
त्यसैगरी नेपालमा राजनीतिक स्थायित्व हुनका लागि सबै राजनीतिक दलहरूका बीचमा समझदारी गरेर अघि बढ्दा राम्रो हुने सन्देश चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमणले दिएको नेता ज्ञवालीले बताउनुभयो ।
त्यस्तै उहाँले एशियामा शक्ति राष्ट्रहरूको हस्तक्षेपहरू बढिरहेको र त्यसको बाछिटा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्