
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।
बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो ।
त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरूसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
उहाँले समितिका सदस्यहरूलाई अर्थ मन्त्रालयका प्राविधिकहरूले त्यसबारे आवश्यक जानकारी गराएको पनि बताउनुभयो ।
यसैबीच, समितिले घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको छ । सो सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरू समितिलाई उपलब्ध गराउन बुधबार विहान १० बजे अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि समितिले जनाएको छ ।
निःवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरू सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनु भएको थियो ।
सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानवीन समिति गठन गरिएको थियो । समितिमा एमालेबाट प्रदिप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा रहेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहँदा नेकपा (एकीकृत समाजवादी)की सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण रहेका छन् ।
एक हप्ता अघि अर्थात् गत असार २२ गते बुधबार गठन गरिएको सो समितिको सभापति समेत अझै चयन गरिएको छैन । कार्यविधि भने तय गरी छानवीनको कामलाई अघि बढाइएको समितिका सचिव अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्