
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा रहेको कञ्चनपुरको महाकाली सिंचाइ आयोजना तेस्रो चरणले धान दिवस मनाउन असार १५ गते मूल नहरमा पानी बगाए पनि अहिले रोकिएको छ ।
एकीकृत महाकाली सन्धि भएको अढाइ दशक बढी समयपछि महाकाली नदीको ब्रह्मदेव क्षेत्रबाट भारतले तेस्रो चरणको मूल नहरलाई धान दिवस मनाउन पानी दिएको थियो ।
महाकाली नदीदेखि नेपाल–भारत सिमानासम्म एक हजार दुई सय मिटर मूलनहर सन्धिअनुसार भारतले बनाएपछि असार १५ मा बेदकोट नगरपालिका क्षेत्रसम्म पानी आएको थियो ।
भारतीय नेसनल हाइड्रोपावर कर्पोरेशनले पानी दिने विषय विधिवत् उद्घाटनपछि मात्रै नियमित दिने तयारीमा रहेको महाकाली सिंचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले बताउनुभयो ।
उहाँले दुवै देशको माथिल्लो तहबाट संयुक्त रुपमा उद्घाटनपछि नियमित पानी मूलनहरमा बग्ने बताउनुभयो ।
सिँचाइ आयोजनाका अनुसार हाल निर्माणको अन्तिम चरणमा रहेको २८ किलोमिटर मूल नहर बनेपछि सो क्षेत्रको पाँच हजार ३ सय हेक्टर क्षेत्रफलमा भने सिँचाइ सुविधा पुग्ने जनाएको छ ।
कैलालीको मालाखेतीसम्म १ सय ५१ किलोमिटर नहर निर्माण गरी ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको आयोजनाका लागि ३५ अर्ब लागतसहित गुरुयोजना तयार रहेको छ ।
डेढ दशकअघिदेखि निर्माणको सुरसार गरेको आयोजनाले भने हालसम्म ३० किलोमिटरसम्म मूल नहर निर्माण गर्न सकेको छैन ।
सन्धि अनुसार दोधारा चादँनी नगरपालिकालाई शारदा नहरबाट ३ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनुपर्ने भए पनि उक्त विषयले अझै प्रवेश पाएको छैन ।
वि.सं २०५२ मा प्रधानमन्त्रीस्तरमा महाकाली सन्धिमा हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्