
सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा पुगेका हुन् । प्रहरी हवल्दार सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ पिस र विनसिरेक्स १ सय एमएलको १ सय ५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित सिंहलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण पोखरेलले जानकारी दिनुभयो । सिंहले सुरूमा बोराभित्र रहेको उक्त लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि बोरा लैजान दबाब दिएपछि उनले उखुबारीमा लगेर लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएकाे छ ।
रौतहट घर भएका हवल्दार सिंहलाई अहिले इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्