१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध भयो : अध्यक्ष नेपाल

‘संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचन मिति घोषणा हुन्छ, मंसिरभन्दा पछि जाँदैन’

546
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) पास नभएकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी पास नगरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गर्नुभएको हो । उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताउनुभयो ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरूको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताउनुभयो । उहाँले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताउनुभयो । उहाँले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने बताउनुभयो । उहाँले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिरभन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका नेताहरुलाई जिल्लामा केन्द्रिकरण हुन आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले अमेरिका नाटो र इण्डोप्यासिफिको संयन्त्रद्वारा रुस, चीन र उत्तर कोरियालाई सखाप पार्ने रणनीतिमा रहेको बताउनु भयो । उहाँले चीन र रुसले पनि अमेरिकालाई जवाफ दिन आफ्नो सैन्य शक्ति बढाउने काम गरिरहेको तथा हातहतियार खरिद गर्ने र निर्माण गर्ने काम गरिरहेको भन्दै अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले (एमाले)लाई अहिले धेरै प्रहार गर्नु नहुने बताउनुभयो । आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको बताउनुभयो ।

अध्यक्ष नेपालले अहिले निर्वाचनको परिणामले आफूहरू नेकपा एमालेभित्र हैसियत भएको शक्तिका रूपमा रहेको बताउनुभयो । सोही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्सन भोगिरहेको उहाँको दाबी छ ।

अध्यक्ष नेपालले अझै पनि जनतामा भिजेका नेताहरू आफ्नो पार्टीमा रहेको र त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानरगपालिकामा देखिएको बताउनुभयो ।