
परासी । विपन्नहरूले पाउने राहतमा पनि नवलपरासीका जनप्रतिनिधिहरूले दलिय आधारमा भागबण्डा गर्ने गरेको खुलेको छ ।
राहत वितरण कार्यमा भएको भागबण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिकाको वडा नम्बर ५ मा कुटाकुट समेत भएको छ ।
जनप्रतिनिधिहरूबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका छन् ।
सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि पठाएको रकम वितरणमा विवाद हुँदा उनीहरूबीच कुटाकुट भएर घाइते भएका हुन् ।
रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको वडा नम्बर २ को कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।
कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरू रकम पाउनबाट बञ्चित हुने देखिएको छ ।
कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अति विपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले रकम पठाएको छ ।
यो रकम सरकारले जिल्लाका सबै पालिकाहरूमा जेठको अन्तिम सातामा पठाएको हो । सरावल गाउँपालिकामा कुल ७ सय जनाका लागि कुल ७० लाख रुपैयाँ आएको अध्यक्ष चौधरीले बताउनुभयो ।
सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूबीच विवाद भएको हो ।
प्रतिक्रिया दिनुहोस्