
काठमाडौं । वैदेशिक रोजगारमा जानेको संख्या ३.६८ गुणाले वृद्धि भएको छ ।
शुक्रबार वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक शेषनारायण पौडेलले विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताउनुभएको हो ।
महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताउनुभयो ।
पौडेलले अहिले पनि वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रूपमा लयमा फर्किएको बताउनुभयो । २०५१ सालदेखि अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढीले श्रम स्वीकृत लिएको उहाँको भनाइ छ ।
७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलाले पाएको महानिर्देशक पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको उहाँको भनाइ छ ।
त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताउनुभयो । उहाँले सबै प्रकारका श्रम स्वीकृतिहरू अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीहरूको समय र लागत कम भएको दाबी गर्नुभयो ।
महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दा पनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउने गरेको बताउनुभयो । उहाँले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताउनुभयो ।
महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताउनुभयो । उहाँले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताउनुभयो ।
पौडेलले दोस्रोमा कतार, तेस्रोमा युएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पुनः मलेसियाको जाने श्रमिकको सख्या बढ्न थालेको जानकारी गराउनुभयो ।
पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको एपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको बताउनुभयो । उहाँले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताउनुभयो ।
त्यस्तै महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फर्स्यौट ७० प्रतिशत भएको जानकारी दिनुभयो । उहाँले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गर्नुभयो ।
महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धि कानून कार्यविधिमा ठूलो समस्या रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगार सम्बन्धि ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन, २०६४ रहेको दाबी गर्नुभयो । महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्