६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला


208
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, चितवनले गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ ।’

स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौं, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन ।’

फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेस कुनै समूहको पार्टी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस विधिविधानअनुसार हिँड्नुपर्छ ।’

पार्टी सभापतिले सबैलाई मिलाएर हिँडाउनुहुन्छ भन्ने चाहना आफ्नो रहेको उहाँले बताउनुभयो । आफू भागबण्डाका पक्षमा नरहेको जनाउँदै उहाँले पार्टी वैधानिकरुपमा चलोस् भन्ने रहेको जिकिर गर्नुभयो ।

आफूसँग विचार मिल्ने साथीसँग छलफल गर्दा भाग खोज्यो भन्नु हल्ला रहेको उहाँको भनाइ थियो ।

कांग्रेस कम्युनिष्ट प्रवृतिबाट जान नहुने भन्दै उहाँले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानुपर्ने बताउनुभयो ।