२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाली सेनामा उपरथी थापा यूएनको फोर्स कमाण्डर नियुक्त


819
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई फोर्स कमान्डर नियुक्त गर्नुभएको छ ।

महासचिव गुटेरेसले थापालाई सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकलाई ‘यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको हो ।

शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर नेपाली सेनाका रथी ईश्वर हमाल फर्किसक्नुभएको छ । अब हमालको स्थानमा थापाले गएर काम गर्नुहुनेछ ।

नेपाली सेनाले नेपाल सरकारको स्वीकृतिमा उपरथी थापालाई फोर्स कमान्डरका लागि स्वीकृति दिएको थियो ।

थापा हाल सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयका महानिर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये संख्याको हिसाबले नेपाल दोस्रो नम्बरमा छ ।

नेपाली सेनाका अनुसार बुधबारसम्म विश्वभरका विभिन्न ११ मिसनमा ५ हजार ५ सय ७० सैनिक शान्ति स्थापनाका लागि खटिएका छन् । नेपाल सन् १९५५ मा यूएनको सदस्य भएको थियो ।

त्यसपछि सन् १९५८ मा लेबनान र १९६६ मा भारत–पाकिस्तानमा ‘मिलिटरी अब्जर्भर’ र त्यसपछि सन् १९७४ मा इजिप्टको सिनाईमा शान्ति सैनिक फौज पठाएर नेपाली सेनाले विश्व सुरक्षाका लागि कदम अघि बढाएको हो ।

हालसम्म नेपाली सेनाले विभिन्न मुलुकका ४४ भन्दा बढी मिसनमा १ लाख ४० हजार ३ सय ५४ शान्ति सैनिक पठाइसकेको छ ।