१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

बैंक तथा वित्तीय संस्थाले निक्षेपकाे ब्याजदर नबढाउने


1.794k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले साउनमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।

ब्याजदर बढाएकै कारण बैंकमा निक्षेप नआउने निष्कर्षका आधारमा बैंक तथा वित्तीय संस्थाले साउनमा पनि पुरानै ब्याजदर प्रकाशित गर्ने निर्णय वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका छाता संगठनहरूले गरेका छन् ।

आर्थिक वर्षको अन्त्य भएकाले पछिल्ला साताहरूमा निक्षेप बढिरहेको छ भने आउने साता राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले के कस्तो नीति अवलम्बन गर्छ त्यो हेर्नका लागि पनि बैंक तथा वित्तीय संस्थाले साउनमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने भएपछि डेभलपमेण्ट बैंकर्स संघ र वित्त कम्पनी संघले पनि औपचारिक रूपमा निर्णय नै गरेर साउनका लागि पनि असारकै ब्याजदर प्रकाशित गर्ने सहमति गरेका हुन् ।

जसअनुसार साउनमा वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११ दशमलब ३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । यसका आधारमा एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर १० दशमलब शून्य ३ प्रतिशत र साधारण बचतको ६ दशमलब शून्य ३ प्रतिशत रहनेछ ।

यस्तै, सहमतिअनुसार विकास बैंकहरूले साउनका लागि एक वर्षे मुद्दती निक्षेपमा अधिकतम १२ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । जसअनुसार एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र साधारण बचतको ७ प्रतिशत कायम गरेका छन् ।

यसैगरी, वित्त कम्पनीहरूले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकत १२ दशमलब १५ प्रतिशत र दुई वर्षे मुद्दती निक्षेपको ब्याजदर अधिकतम १२ दशमलब २५ प्रतिशत कायम गरेका छन् । जसअनुसार एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलब १५ र साधारण बचतको ७ दशमलब १५ प्रतिशत रहेको छ ।

पछिल्ला केही महिनायता बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । तर, कर्जाको ब्याजदर भने निरन्तर बढीरहेको छ । साउनदेखि कर्जाको ब्याजदर फेरि बढेको छ ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले लागतमा आएको परिवर्तनअनुसार आधारदर परिमार्जन गरेका छन् । आधार दर बढेकाले साउनदेखि कर्जाको ब्याजदर पनि बढ्ने बैंकहरूले बताएका छन् ।