२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


एमालेबाहेक अरू वामपन्थी हैनन् : अध्यक्ष ओली

‘कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’

468
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अरु वामपन्थी नभएको तर्क गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा ओलीले कांग्रेसको पछाडि लाग्ने दलहरूले आफूलाई वामपन्थी भन्न नमिल्ने बताउनुभयो ।

‘साइन बोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी हुँदैन,’ उहाँले प्रश्न गर्नुभयो, ‘कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’

अध्यक्ष ओलीले शंकाको लाभ सबैलाई दिने भन्दै नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसको पछाडि नलागी गठबन्धन छोड्नुपर्ने बताउनुभयो । देशघाती काम नगरी वामपन्थी एकतामा आउन उहाँको आह्वान थियो ।

अध्यक्ष ओलीले कोही वामपन्थी भए एमालेसँग मिलेर देशका लागि काम गर्ने सरकार बनाउन आउन आह्वान गर्नुभयो ।

त्यसअघि नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको नाम नै लिएर तँ भन्दा म के कम नभनेर वामपन्थी तालमेलका लागि आग्रह गर्नुभएको थियो ।

माओवादी केन्द्रका नेता श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरू भएको बताउँदै अहिले वामपन्थीहरूले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको बताउनुएको थियो ।

वामपन्थीको अस्तित्व पर्दा देशको अस्थित्व संकटमा पर्ने नेता श्रेष्ठको चेतावनी थियो । उहाँले वामपन्थी एकता आवश्यक रहे पनि तत्काल सम्भव नभए तालमेल र मोर्चातिर जान सकिने बताउनुभयो ।

पार्टी एकता जोगाउन नसकेकोमा आफूले आत्मालोचना गरेको उहाँले बताउनुभयो ।