
काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताउनुभएको छ । आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले आफूमाथि जिम्मेवारी बढेको त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताउनुभयो ।
आइतबार नै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराउनु भएको थियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ व्यक्तित्वको उपस्थिति थियो ।
शपथग्रहण लगत्तै उपसभामुख भुसालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहणका क्रममा उहाँले आफ्नो कार्यकाल थोरै समयको भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । भुसाल गत शुक्रबार प्रतिनिधिसभा बैठकमा भएको मतदानबाट उपसभामुख पदमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्