
काठमाडौं, बैशाख २६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीर्ण शरीरलाई आराम दिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । लोकतन्त्र विरोधी गतिविधिमा प्रधानमन्त्री संलग्न रहेको आरोप लगाउँदै उनले नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन् ।
संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस् । तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’
भट्टराईले ओलीको विकल्पमा अगाडि नआउन पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गर्दै भने, ‘६०/६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ । लोकतन्त्र सुदृढ हुन्छ ।’
उनले राजनीतिक दल फुटाउने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको भन्दै उनले ‘फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने नसोच्न सचेत गराए ।
सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको र उनीहरुविरुद्ध जाहेरीसमेत नलिएको भन्दै भट्टराईले भने, ‘उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने ?’
महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गर्न प्रस्ताव गर्दै भट्टराईले टीकापुर घटनामा दोषी ठहर भई निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र नेत्रविक्रम चन्द समूहलाई क्षमादान दिएर सहमतिमा ल्याउन आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्