१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी छ : पर्यटन श्रेष्ठ


26
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।

मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्नको लागि तत्काल गर्न सकिने मध्ये कालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने उल्लेख गर्नुभयो । उहाँले पर्यटन क्षेत्रको पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर मात्रै व्यवस्थित गर्न सकिने दाबी गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिनुभयो ।

उहाँले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरुको ब्रोसरहरु बोकेर, हवाइ उडानमा खर्च गरेर अहिलेको आधुनिक र टेक्नोलोजीको समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गर्नुभयो । होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकता नराखेको गुनासो गर्नुभयो ।

उहाँले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिता नपरेर सहुलियत तथा छुट समेत नपाउँदा उद्योग धरासाही बनेको दाबी गर्नुभयो । अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरे मात्रै पर्यटन उद्योगलाई ठूलो सहयोग पुग्ने बताउनुभयो ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा स्थापना गर्न सुझाव दिनुभयो ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटकको लागि काठमाडौंमा विगत लामो समयदेखि पर्यटक बसपार्कको अभाव भएकाले सरकारले पर्यटक बसपार्कको व्यवस्थापन तत्काल गर्नुपर्ने बताउनुभयो ।