
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताउनुभयो ।
सोमबार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै महासचिव चन्दले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाउनुभयो । महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरुलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने गरेको आरोप लगाउनुभयो ।
इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको हो । उहाँले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु नेपालमा आइलागेको दाबी गर्नुभयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गर्नुभयो ।
महासचिव चन्दले अहिलेका दलहरुले दलको स्वार्थका लागि केही मान्छेको झोलि भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेको बताउनुभयो । उहाँले अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरुको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको स्पष्ट पार्नुभयो ।
उहाँले यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरुको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको बताउनुभयो । महासचिव चन्दले एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको पनि दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्