१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना परीक्षण, कोरोनाबाट ७८ हजार व्यक्तिको मृत्यु


0
Shares

काठमाडौं, बैशाख २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको दैनिक कोरोना संक्रमणको परीक्षण गर्न थालिएको छ ।

दुबै जनाको सहयोगीहरुलाई एकपछि अर्को गर्दै कोरोनाको संक्रमण देखिएपछि ह्वाइट हाउसले दैनिक रुपमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण गर्न थालेको अन्तर्राष्ट्रिय सामाचार संस्थाहरुले जनाएका छन् ।

शुक्रबार मात्र उपराष्ट्रपति पेन्सका प्रेस सेक्रेटरी केटी मिलरमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । त्यसको एक दिनअघि राष्ट्रपति ट्रम्पको सहयोगीलाई पनि कोरोना पाइएको थियो ।

उता अमेरिकाभरमा भने कोराना संक्रमणबाट ७८ हजार ६सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संक्रमितको संख्या १३ लाख २१ हजार नाघेको छ । २९ हजारभन्दा बढी मानिसमा नयाँ संक्रमण देखिएको छ ।

देशमा भाइरसका कारण मानिसहरुको मृत्युको आकारले शिखर चढिरहेपनि राष्ट्रपति ट्रम्पले भने लकडाउन खुलाउने पक्षमा आफूलाई अडिग राखेका छन् । विभिन्न राज्यहरुले लकडाउन खुकुलो बनाउँदै काममा फर्कन थालेका छन् ।