
काठमाडौं । ‘शिक्षा सबै भन्दा शक्तिशाली हतियार हो जसले तिमी संसार बदल्न सक्छौ’– शिक्षाको ममहत्वबारे अमेरिकाको एउटा हाइस्कुलमा सन् १९९० मा नेल्सन मन्डेलाले भनेका थिए। मन्डेलाले भनेजस्तै संसार बदल्न सक्ने शिक्षामा दलित समुदायको पहुँच पुगेको धेरै भएको छैन। नेपालमा सामवेशिताको सवालमा विद्यावारिधि गरेका यामबहादुर किसानले नेपालका राज्यसत्ताहरूको दलित सम्बन्धी नीति एक समीक्षा भन्ने लेखमा २००७ सालमा आएको प्रजातन्त्रको एक वर्षपछि मात्र दलितहरूले विद्यालयको दैलो टेक्न पाएको बताएका छन्।
त्यसपछि सामाजिक राजनीतिक आन्दोलन र राजनीतिक परिवर्तनसँगै दलितको शिक्षामा पहुँचका लागि केही प्रयास भए। तर करिव सात दशकको यस अवधिमा दलित समुदायको शैक्षिक अवस्था सन्तोषजनक छैन। गुणस्तरीय शिक्षामा उनीहरूको पहुँच आज पनि अत्यन्तै न्यून छ। दलित समुदायका बालबालिकाका लागि विद्यालय सर्वप्रथम वि.सं. २००८ मा खुलेका हुन। २००८ असोज १५ मा शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रजातान्त्रिक व्यवस्थामा सबैले शिक्षा पाउनुपर्ने उल्लेख थियो।
सोहीअनुरूप दलित समुदायलाई पनि विद्यालयमा भर्ना लिन थालिएको हो। त्यो भन्दा पहिले पनि दलित समुदायका केही व्यक्तिले औपचारिक शिक्षा प्राप्त नगरेका भने होइनन्। उनीहरू आफ्ना अभिभावक रोजगारीको क्रममा भारत गएको समयमा उतै विद्यालय गएको पाइन्छ। भगत सर्वजित विश्वकर्मा जस्ता केही व्यक्तिले भारतमा आधारभूत तहको शिक्षा हासिल गरी नेपाल फर्किएर जातीय विभेदविरुद्ध आन्दोलन पनि सुरु गरेका थिए। त्यसले परिवर्तनको आशा भने जरुर ल्याएको थियो।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्