
काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गर्नुभएको छ ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँसेर जाने बताउनुभएको हो ।
बैठकमा सांसदहरुले निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा उहाँले जाने बेलामा आफू अझ बढि हाँसेर जाने बताउनुभयो ।
मन्त्री चौधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस अवसरमा मन्त्री चौधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्