
काठमाडौं। अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज (बुधबार) पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएकाे छ ।
मंगलबार बसेको संसदीय विशेष समितिको बैठकले पूर्वअर्थमन्त्री शर्मालाई बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो । सीसीटीभी फुटेज गायब भएपछि छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । मंगलबारको बैठकले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको छ ।
साेही समितिले यसअघि हराएएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गरेको थियो । चालू आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेशको विषयमा सोमबारको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको थियो । समितिले सीसीटीभी फुटेज मगाए पनि जेठको रेकर्ड दिनुपर्नेमा मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्