१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले सशस्त्र प्रहरीको संख्या बढाएपनि कैलालीमा चोरी तस्करी नियन्त्रणमा आउन सकेन


351
Shares

कैलाली । भारतसँगको सीमामा सरकारले सशस्त्र प्रहरीको संख्या बढाएपनि कैलालीमा चोरी तस्करी नियन्त्रणमा आउन सकेको छैन् ।

कैलालीमा तीन वटा मात्रै बोर्डर आउट पोस्ट (बिओपी) रहेकोमा पछिल्ला तीन वर्षमा बिओपीको संख्या १८ पुर्याइएको छ । बीओपी थप्दा पनि तस्करी नघट्नुमा मिलोमतोको आशंका गरिएको छ ।

तीन वर्षअघि कैलाली जिल्लामा सशस्त्र प्रहरीका तीन वटा मात्रै बोर्डर आउट पोस्ट (बिओपी) थिए । त्यसबेला सादा पोशाकमा प्रहरी र सशस्त्र प्रहरी तस्करी नियन्त्रणका लागि खटिन्थे । सादा पोशाकका प्रहरी तथा सशस्त्र प्रहरीले तस्करहरूबाट मासिक रकम लिने आरोप लाग्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक तथा नायब निरीक्षकको कमाण्डमा बिओपी स्थापना भए । जिल्लामा रहेको १ सय १ किलोमिटर खुला सिमाना क्षेत्रमा १८ वटा सशस्त्र प्रहरीका बिओपी छन् । तर बिओपी स्थापनापछि पनि अवैध सामानको तस्करी नियन्त्रण नभएको भन्दै नागरिकले बिओपीको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् ।

भारतबाट अवैध रूपमा हुने चोरी तस्करीका कारण कैलालीको व्यापार व्यवसायमा पनि निकै असर परेको छ । सरकारलाई राजस्व तिरेर व्यवसाय गरिरहेका व्यापारीहरूलाई तस्करीले असर पुर्याएको छ । भारतबाट हुने अवैध तस्करी नरोकिएकै कारण यहाँको व्यवसायी पलायन हुने सम्भावना बढेको भन्दै यसलाई नियन्त्रण गर्न प्रशासनलाई व्यवसायीले आग्रह गरेका छन् ।

कैलाली प्रशासनले पनि चोरी तस्करी पूर्ण रूपमा रोक्न नसकिएको स्वीकार गरेको छ । जनशक्ति अभाव तथा खुला सीमानाका कारण तस्करी नियन्त्रणमा चुनौती देखिएको कैलाली प्रशासनले जनाएको छ । तस्करी नियन्त्रणमा थप कडाइका साथ लाग्न दुइ वटै सुरक्षा निकायलाई निर्देशन दिने कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।

कैलाली जिल्लाको सबैभन्दा ठूलो चुनौती खुला सीमाना हो । सीमामा थप बिओपी स्थापना भएपछि पनि पुरानै अवस्था देखिएको छ । विगतमा प्रहरी तथा सशस्त्र प्रहरीले तस्करबाट मासिक रकम लिने गरेको आरोप अहिले बिओपी राख्दापनि दोहोरिएको त छैन् । यतातर्फ कैलाली प्रशासन र सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।