२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाको उपचार बन्द, कर्मचारीले पाएनन् तलब


429
Shares

पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ ।

आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै अस्पतालले सेवा बन्द गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै मंगलबार राति १२ बजेदेखि लागू हुने गरी बिमा बापतको उपचार सेवा बन्द गरेको जनाएको छ ।

सरकारले अस्पतालाई दिनुपर्ने २४ करोड रुपैयाँ समेत भुक्तानी नगरेको र बजेट बक्तब्यमा सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भनेपछि आफूहरूले स्वास्थ्य बिमाको उपचार सेवा बन्द गरेको अस्पतालका अध्यक्ष गोपाल प्रसाद पोखरेलले बताउनुभयो । स्वास्थ्य बिमा बापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुने वा नहुने अन्याेल भएकाले बिमा कार्यक्रम बन्द गर्नु परेको उहाँको भनाइ छ ।

सरकारले नै लापरवाही गर्दा निजी अस्पतालहरू ले भटाभट स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्ने स्थिति बनेको अध्यक्ष पोखरेल बताउनुभयो । ‘स्वास्थ्य बिमाले सर्वसाधारण जनताहररू लाई उपचारमा धेरै सजिलो भएको थियो । तर सरकार जनताको मामलामा गम्भीर नबन्दा अस्पतालहरूले उपचार रोक्नुपर्ने अवस्था बनेको उहाँकाे तर्क छ ।

स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपनि शुल्क तिरेर गरिने उपचार सेवा भने जारी रहने अस्पतालले जनाएको छ । सरकारले प्रति परिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका ५ जना सदस्यलाई वार्षिक १ लाख बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको थियो ।

यसबाट सर्वसाधारणले स्वास्थ्य उपचारमा ठूलो राहत महसुस गरेका थिए । स्वास्थ्य बिमाबापतको उपचारका लागि सरकारले देशभरका ४ सय ५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

कर्मचारीले पाएनन् तलब:

साथै लुम्बिनी मेडिकल कलेजका कर्मचारीले महिनौं बितिसक्दा समेत तलब नपाएको गुनासो गरेका छन् । गत २०७८ चैत्र देखि कर्मचारी र स्वास्थ्यकर्मीले तलब नपाएको सम्बन्धित कर्मचारीहररू बताउँछन् । उनीहररूका अनुसार विगत एक वर्षदेखि अस्पतालले सञ्चयकोष समेत जम्मा गरिदिएको छैन् । महँगीको मारमा परेको बेला बिगत ४-५ महिनादेखि तलव नपाउँदा घरपरिवार र बालबालिकाको दैनिकीमा समस्या आएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताएका छन् ।

अस्पतालका अध्यक्ष गोपाल पोखरेल पनि कर्मचारीहरूलाई समयमै तलब दिन नसकेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमा उपचार बापतको भुक्तानी नहुँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउनुभएकाे छ । अध्यक्ष पोखरेलले भन्नुभयो, ‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नगरेका कारण अस्पताल धरासयी बन्ने अवस्थामा पुगेको छ । कर्मचारीहररूलाई समयमै तलब खुवाउन सकिएको छैन । अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ।’

सरकारले अस्पतालहररूलाई बिमामार्फत उपचार गर्न लगाएर रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा समेत बन्द गर्नुपरेको अस्पतालका अध्यक्ष गोपाल पोखरेलले बताउनुभयाे ।