
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका-१ स्थित हाट स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरले सेवा दिन सुरू गरेका छन् । डाक्टर प्रकाश चौधरीले हाट स्वास्थ्य चौकीमा सेवा दिइरहनुभएको हो ।
नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै हाट स्वास्थ्य चौकीबाट एमबीबीएस डाक्टर सहितको सेवा सुरू गर्ने घोषणा अनुरूप सेवा सुरू भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरसहित ओपडी सेवा र आकस्मिक सेवा सुचारू भएको छ, अब गाउँमै स्वास्थ्य सेवा लिन सजिलो भएको छ ।’
यसका साथै हाट स्वास्थ्य चौकीबाट जनरल अल्ट्रासाउण्ड सेवा र इसजी र एक्सरे मेसिन जडान गरिएको छ ।
स्थानीय निर्वाचनको बेला जनतालाई दिएको आश्वासन पूरा गर्न एमबीबीएस डाक्टर सहितको सेवा सुरू गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनको बेला एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्छौ भनेर बोलेका थियौं, त्यही वाचा पूरा गरेका हौं ।’
नगरबासीको उपचार सेवामा पहुँच पुर्याउन स्वास्थ्य चौकीबाट एमबीबीएस डाक्टर सहितको सेवा शुरु भएसँगै नगरबासीलाई सहज पनि भएको छ ।
यसैबीच बैतडीको डिलाशैनी गाउँपालिकाले एमबीबीएस डाक्टरका लागि आवेदन आह्वान गरेको छ । गाउँपालिकाको डिलाशैनी स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने कार्यक्रम अनुसार एमबीबीएस डाक्टरका लागि आवेदन आह्वान गरेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा डिलाशैनी र रुद्रेश्वर स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने उल्लेख गरेको थियो ।
सोही कार्यक्रम अनुसार एमबीबीएस डाक्टरका लागि आवेदन आह्वान गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयो ।
यस्तै, गाउँपालिका कार्यालयका लागि एकजना जनस्वास्थ्य अधिकृतका लागि पनि आवेदन आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्