
काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले सैनिक विशेष अदालतलाई सेनाको मुख्यालय परिसर भन्दा बाहिर सार्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद गुरुङले सैनिक विशेष अदालतमा विगत देखिकै धेरै मुद्दा पेन्डिङमा रहेकाले सेनामा न्यायप्रति विश्वास घटेको बताउनुभयो । उहाँले सैनिक विशेष अदालतको बेथिति र ढिलासुस्तीमाथि अनुगमन गर्न सरकारसमक्ष माग गर्नुभयो । उहाँले सैनिक विशेष अदालत सेनाको मुख्यालयभित्र रहुन्जेल पीडित सैनिकले न्याय नपाउने भन्दै यसलाई मुख्यालय परिसरबाट बाहिर सार्न माग गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताउनुभयो । एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सिसी क्यामेरा खोज्दै हिडेको उहाँको टिप्पणी छ । उहाँले एम अधिकारीको खोजी सरकार र प्रतिपक्षले नगरेकाले अधिकारी थर हुनेहरुले नै खोजी थाल्नुपर्ने व्यंग्य गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले नेपाली विद्यार्थी प्राविधिक शिक्षा पढ्न विदेशिएका कारण सञ्चित विदेशी मुद्रा बाहिरिएको बताउनुभयो । उहाँले चिकित्सा शिक्षा ऐन चालु संसदबाट संशोधन गरी विद्यार्थीहरुलाई नेपालमै पढ्ने अवसर दिलाउनुपर्ने बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले पानी नपरेका कारण तराईको खेतीयोग्य भुमिको आँधा स्थानमा धान रोपाइँ हुन नसकेको बताउनुभयो । उहाँले मल, बिउको समेत समस्या रहेको चर्चा गर्दै तराई मधेशका किसानहरुले भोगेका समस्याबाट छुटकारा दिलाउन राहत घोषणा गर्न सरकार समक्ष माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्