१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारले नागरिकको समस्यामा चासो नदिएको सांसदको गुनासो


39
Shares

काठमाडौं । सरकारले सर्वसाधारणको आम चासोका समस्या समाधानमा चासो नदिएको सांसदहरुले गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकका शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटना न्यूनिकरण, महंगी, सरकारी खर्च कटौती र ग्रामीण क्षेत्रमा अस्पताल सञ्चालन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेस सांसद डा. डिला संग्रौलाले विकासका नाममा असार मसान्तमा सडक टालटुलमात्र गर्दा दैनिक दुर्घटना बढेपनि सरकारी निकायले त्यसको जिम्मेवारी नलिएको आरोप लगाउनुभयो । उहाँले सम्बन्धित निकायले दुर्घटना कम हुनेगरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले पेट्रोलियम पदार्थ र सवारी चालकको खर्च कटौती गरी सार्वजनिक यातायात प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण लिनु आवश्यक रहेको बताउनुभयो । प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले दूर दराजमा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमा आइसियु र भेन्टिलेटर सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले)को संगठन बनाउन लाग्न आग्रह गर्नुभयो । उहाँले सर्वत्र विरोध भएपनि एमालेले नै अधिकारीलाई जोगाएको आरोप लगाउनुभयो ।

प्रतिनिधि सभा सदस्य दीपकप्रकाश भट्टले गेटामा प्रश्तावित मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरी सो पूर्वाधारमा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले न्यायलयको न्यायालयको न्याय सम्पादन गर्ने शैली पुरानो भएकाले न्यायमा जनताको पहुचँ पुग्न नसकेको बताउनुभयो । उहाँले उच्च स्तरीय न्यायिक सुधार आयोग गठन गर्न माग गर्नुभयो ।