
काठमाडौं । एउटा समय महिलालाई बाजा बजाउन बर्जित थियो । तर, अहिले बाद्यवादनमा महिलाको रुचि अपूर्व बढ्न थालेको छ ।
काठमाडौं उपत्यकाकै सांस्कृतिक वैभव मानिने धिमे बाजा बजाउने टोलीमा महिलाको संख्या उल्लेख्य देखिने गरेको छ ।
१२ वर्षको उमेरदेखि धिमेबाजा बजाउँदै आएकी भक्तपुरकी इन्दिरा लाछेमस्युले आफ्नै अग्रसरतामा व्यावसायिक रूपमै धिमेबाजाका महिला कलाकार उत्पादन थालेकी छन् ।
इन्दिराका पुस्तौनी परिवार नै बाजा बजाउने उस्ताद थियो । उहाँसँग बाजा सिक्न थुप्रै प्रशिक्षार्थी आउँथे । तर, त्यो टोलीमा महिला अनुहार देखिदैनथ्यो । बालवयकी इन्दिरालाई यो दृश्य अत्यन्त बिझाउँथ्यो ।
महिलाले बाजा बजाउन किन नहुने ? यो प्रश्न धेरै समय अनुत्तरित भएर रह्यो । जब उहाँ बाजाको संसारमा डुब्नुभयो, त्यसपछि महिला कलाकार उत्पादन गर्ने अठोट गर्नुभयो ।
त्यो महाअभियान पूरा गर्न स्कुलदेखि घर–घरसम्म धाएर किशोरीदेखि जुनसुकै उमेरका महिलालाई प्रशिक्षित गर्दै हुनुहुन्छ । उहाँको यो अभियानले अहिले भक्तपुरमा सांस्कृतिक क्रान्ति नै ल्याएको छ ।
नयाँपुस्तामा संस्कृतिप्रति अपार मोह जाग्दै गएको छ । अझ परिवारले नै होस्टेमा हैंसे गरेपछि त उहाँ थप उत्साही बन्नुभएको छ ।
इन्दिराको गाना बजानाको शुरुवात धिमे बाजाबाट भएको हो । अहिले उहाँ चलेका एकदर्जन बढी मुख्यबाजा बजाउन सक्षम हुनुहुन्छ ।
छोरीले बाजा बजाउन त परै जाओस् छुन समेत हुन्न भन्ने मान्यतालाई चुनौती दिँदै समाजमा पहिलो पटक पुरुष समूहमा बाजा बजाउँदाको अनुभव बयान गरि साध्य छैन ।
आफू बाजा बजाउन सक्षम भएपछि उहाँले टोलका अन्य महिलालाई समेत बाजा बजाउन प्रेरित मात्र गर्नु भएन, तालिम दिएर १२ जनाको समूह तयार भइसकेको छ । जुन समूह भक्तपुर लगायतक उपत्यकाका सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको छ ।
यही सिको गरी काठमाडौं र ललितपुुरमा पनि बाध्यबाधकको समूह सक्रिय भएको उहाँको बुझाइ छ । यो अभियान बालबालिकामा समेत विस्तार भएको छ । इन्दिराको यो उत्साह गाउँ, नगर हुँदै देशव्यापी हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्