१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भारतले नेपाली भूमिमा १९ किलोमिटर सडक बनायोः परराष्ट्रमन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, बैशाख २८ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि हुँदै १९ किलोमिटर सडक बनाएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिएका हुन् ।

मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रारम्भिक जानकारी पाएसँगै यसबारेमा विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको पनि बताए ।

मन्त्री ज्ञवालीले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको अवधारणा भारतले सन् १९९९ मा विकास गरेको जानकारी दिँदै सन् २००५ मा स्वीकृत गरेको र सडकमार्गको निर्माण भने सन् २००८ मा थालिएको जानकारी दिए ।

सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि भारतले सडक निर्माणमा तीब्रता दिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि नै भएको बताउँदै मन्त्री ज्ञवालीले विवादित विषय सुगौली सन्धिअनुसार नै समाधान हुनुपर्छ भन्नेमा नेपाल अडिग रहेको बताए ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि कोरोना भाइरसको संक्रमण रोकिएसँगै परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने उल्लेख गरेकाले कूटनीतिक तवरबाटै समस्या समाधान गरिने ज्ञवालीको भनाइ थियो ।

१५ मे २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच लिपुलेक भएर चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडक निर्माण गर्ने र त्यसलाई दुई देशबीच व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको थियो ।

मोदीकै चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेको सहमतिमा पन लिपुलेकलाई भारत–चीनबीचको व्यापारिक नाकाका रूपमा विकास गर्ने उल्लेख थियो । यसबारेमा नेपालको परराष्ट्र मन्त्रालयले उक्त सम्झौताका विषयमा दुबै मुलुकलाई कूटनीतिक नोट लेखे पनि कुनै समाधान ननिस्कँदै भारतले सडक ट्रयाक नै उद्घाटन भएपछि विवाद सतहमा आएको हो ।