
काठमाडौं, बैशाख २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारतले एकतर्फी रुपमा लिपुलेकमा सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ । यसैगरी उसले लिपुलेकको नीतिप्रति चीनको पनि आलोचना गरेको छ ।
आइतबार राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त रुपमा जारी विज्ञप्तिमा भारतको मिचाहा प्रवृत्तिको भत्सर्ना गरिएको छ ।
‘नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजानुको सट्टा भारतले सो क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई यातयात संचालन कार्य शुरु गरेको छ । भारत सरकारको यस्तो मिचाहा प्रवृत्तिको राप्रपा भत्सर्ना गर्दछ’, राप्रपाको विज्ञप्तिमा भनिएको छ ।
यस विषयमा नेपाल सरकारको निष्कृयता र उदासिनताप्रति पनि खेद व्यक्त गर्दै चीनको भूमिकाप्रति पनि राप्रपाले आपत्ति जनाएको छ ।
राप्रपाले भनेको छ, ‘लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय विन्दु भएको थाहा हुँदाहुँदै नेपालसँगको परामर्श र सहमति विना नै उक्त क्षेत्रलाई भारतसँग दुई पक्षीय व्यापारिक नाका बनाउने र यातायातको निमित्त खोल्न अनुमति र सहमति प्रदान गर्ने छिमेकी मित्रराष्ट्र चीन सरकारको नीतिसमेत आपत्तिजनक छ । यस सम्बन्धमा नेपाल सरकारको निष्कृयता र उदासिनता खेदजनक छ ।’
राप्रपाले भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाएर विरोध जनाउन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्