१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् : दुर्गा पौडेल


117
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रबार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताउनुभयो ।

सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताउनुभयो । उहाँले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गर्नुभयो ।

सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताउनु भयो । उहाँले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था, सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताउनुभयो । सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले बुबा र आमा दुबै वंशजका छन भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताउनुभयो ।