१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता विधेयकमा छलफल होइन ‘छल’ हो : सांसद रावल


130
Shares

काठमाडौं । नेकपा(एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभयो ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसद भीम रावलले नागरिकता विधेयकलाई समितिमा नपठाई जबर्जस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरंकुशता भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘छलफल होइन केवल छल हो । नागरिकता जस्तो संवेदनशिल विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालिन अस्तित्वसँग गाँसिएको नागरिकता जस्तो गम्भिर विषयलाई समितिमा नपठाई जबर्जस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास हो । निरंकुशता हो । राष्ट्रियताप्रतिको खेलवाड हो । संसारमा कहि पनि नागरिकता खुकुलो हुन्न । संविधान बनाउने बेला नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि त्यतिबेला पाँच वा सात वर्ष भन्ने छलफल भएको थियो । नेपालमा निरन्तर बसोवास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमति विपरित राज्य व्यवस्था समितिले निर्णय गरी पेस गरेको सात वर्षको प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनैतिक अनैतिकता पनि हो ।’

उहाँले नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि बसोवास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमति विपरित विधेयक अगाडी बढाइएको बताउनुभयो ।

सांसद रावलले राज्य व्यवस्था समितिले निर्णय गरी पेस गरेको सात वर्षको प्रावधानलाई हटाउनु राष्ट्रप्रतिको बेइमानी भएको बताउनुभयो ।