
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भईरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताउनुभएको हो ।
शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामूदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने व्यवस्था गरिएको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको पनि स्पष्ट पार्नुभयो ।
त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले आफूले सो प्रक्रिया अघि बढाएको पनि समितिलाई मन्त्री खापुङले जानकारी दिनुभयो ।
मन्त्री खापुङले प्राईभेट क्षेत्रको सहभागिताविना स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढने धारणा पनि राख्नु भयो । उहाँले सो बीमा कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी खडा गरेर अघि बढने तयारी गरिरहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्