
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पास गर्न सिंगो सदन सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधन कर्ताहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताउनुभयो ।
गृहमन्त्री खाँणले अहिले ल्याएको विधेयकको मुल आधारशिला नै नेपाली आमा र बुबा भएकाहरुले नै नागरिकता पाउने गरेर नागरिकता (पहिलो संशोधन) विधेयक ल्याएको बताउनुभयो । उहाँले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री खाँणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अंगीकृतको लागि सबैले सहमति गरेर नागरिकता बिहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले नागरिकताका बारेमा समस्या समाधान गर्न सरकार छलफलका लागि तयार रहेको पनि उल्लेख गर्नुभयो ।
गृहमन्त्री खाँणले वैवाहिक अंगीकृतको ७ वर्षको प्रावधानका कारण नै नागरिक संशोधित विधेयक अघि बढ्न नसकेको भन्दै सबैले यसलाई संशोधन गर्ने प्रश्ताव फिर्ता गर्न आग्रह गर्नुभयो ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ४५ जनाले ९४ बुँदामा संशोधित प्रश्ताव पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्