
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता प्राप्तिकै लागि एमालेले कुनै गठबन्धन नगर्ने बताउनुभएको छ ।
उहाँले अब हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले एक्लै चुनाव लड्न सक्ने बताउनुभयो । शनिबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले कांग्रेसले आफ्नो बहुमत आउने गरी गठबन्धन गर्ने निर्णय गरेपछि गठबन्धनका अन्य दलले वाम गठबन्धनको फन्डा चलाएको आरोप लगाउनुभयो ।
उहाँले कांग्रेसलाई जिताउने र त्यही जितमा खुसी हुनेहरु वामपन्थी हुन नसक्ने कर्ता गर्नुभयो । एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेन्डा मिल्नेहरुसँग मात्र चुनावी एकता हुने उहाँले बताउनुभयो ।
नेता ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्रले आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदको भावनामा समेत चोट पु¥याएको बताउनुभयो । माओवादी केन्द्रकै सांसदहरुले संशोधन प्रस्ताव राखेको नागरिकताको वैवाहिक अंगीकृत नागरिकताको एजेन्डाविपरीत विधेयक रहस्यमय तरिकाले पारित गरिएको उहाँको आरोप छ ।
वैवाहिक अंगीकृतबाहेकका एजेन्डामा भने सरल र सहज तरिकाले हरेक नेपालीले नेपाली नागरिकता पाउनु पर्ने तर्क एमालेको रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्