२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अपाङ्गता भएका व्यक्तिहरुका लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण


234
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

गृहमन्त्री खाँणले शनिबार काठमाडौंमा विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण गर्दै अपाङ्गता भएहरुको संख्या धेरै रहेको र उनीलाई सम्मानजनक जीवन जिउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय सरकारले अपाङ्गता भएका व्यक्तिहरुको जीवनवृत्तिका लागि मासिक केही रकम दिने निर्णय गरेको जानकारी गराउनुभयो । खाँणले नेपालका सरकारी कार्यालय अझै अपाङ्गमैत्री हुन नसकेको भन्दै पछिल्लो समय सबै सरकारी कार्यालय अपाङ्गमैत्री बनाउन निर्देशन दिएको बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएका व्यक्तिलाई दोस्रो दर्जाको हैसियतमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हालै राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को भण्डार आगलागीले क्षतविक्षत भएकोले सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रममा सुविधासम्पन्न ८ वटा एम्बुलेन्सकासाथै विपद्पछिको उद्धारका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ ।