
कविलवस्तु, बैशाख २९ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गरेको छ । जिल्लामा १५ जना कोरोना संक्रमित फेला परेपछि कपिलवस्तु पूर्णरूपमा शील गरिएको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय गरिएको हो । यो निर्णय बैशाख २९ गते साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२०को दफा २ (१) बमोजिम वैशाख २९ गते साँझ ५ गतेदेखि जेठ ५ गते मध्यरातसम्म जिल्ला बन्द राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका हुन् ।
पौडेलका अनुसार, ‘कपिलवस्तु कोरोनाको उच्च जोखिममा रहेकाले राजपत्रमा प्रकाशित अति आवश्यकीय वस्तुहरू ढुवानी (खाद्यान्न, तरकारी, फलफूल, दूघ, पेट्रोलियम पदार्थ लगायत) दिइने छ । जिल्लाभित्र गुड्ने सबै सवारी साधन, मानिसको आवतजावतमा पूर्णतः रोक लगाइएको छ ।’
कपिलवस्तुका १५ जना कोरोना संक्रमितको बुटवलको अस्थायी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
सोमबार मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका थिए ।
कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।
कपिलवस्तुको भारतीय सीमातर्फ आईतबारसम्ममा १९ सयभन्दा बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाई छ । त्यसमध्ये ति व्यक्ति गएराती नेपाल प्रवेश गरेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्