२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गड्डाचौकी हुँदै स्वदेश फर्कनेमा देखियो कोरोना संक्रमण


169
Shares

काठमाडौं । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ ।

भारतबाट फर्कनेमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।

शंकास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ ।

भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो रुपमा रहेको छ । एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको संक्रमण देखिएको उहाँले बताउनुभयो । दैनिक दुई सय बढीको एन्टिजेन परीक्षणको कार्य हुँदै आएको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ ।

कोरोना परीक्षणका लागि आवश्यकपर्ने किटलगायतका सामग्रीको हालसम्म अभाव नरहेको उहाँले बताउनुभयो । दैनिक सीमा नाका भएर फर्कनेको सङ्ख्या चारदेखि पाँच सयको सङख्याको हाराहारीमा रहने गरेको छ ।

भारतबाट फर्कने व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो । कोरोनाविरुद्धको जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।