
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणीका घटना भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कार सम्बन्धी जाहेरी दर्ता भएका छन् । गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी परेका थिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा १९८ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कैलालीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् ।
यस जिल्लामा ११९ जाहेरी दर्ता भएका छन् । कञ्चनपुरमा ३३ जाहेरी परेका छन् । प्रदेशका सात पहाडी जिल्लाहरूमध्ये डोटीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।
यस जिल्लामा २० जाहेरी परेको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस्तै बझाङ्गमा १५, अछाम र बाजुरामा १३/१३, बैतडीमा १२ र दार्चुलामा १० घटना भएका छन् । डडेल्धुरामा सबैभन्दा कम सात जाहेरी परेका छन् ।
प्रतिक्रिया दिनुहोस्