
काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सिंहदरबारभित्रका थप दुई सीसीटिभी फुटेज माग गरेको छ ।
समितिले गत बिहीबार सिंहदरबारमा तीन घण्टासम्म पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो । बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप शर्मामाथि लागेको छ ।
उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो । अर्थ मन्त्रालयको त्यही पत्रपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा अर्थमन्त्री शर्माको राजीनामाका लागि दबाब दिएको थियो ।
समितिले अर्थमन्त्रालयको सीसीटिभी फुटेजको प्राविधिक पक्षबारे अनुसनन्धान गर्न फुटेज प्रहरीको ल्याबमा परीक्षणको लागि पठाएको छ । तर, अहिलेसम्म प्रहरीले परीक्षणपछि रिपोर्ट पठाएको छैन ।
अनधिकृत व्यक्तिको प्रवेश भए नभएको अनुसन्धान गर्न समितिले आज सिंहदरबाको थप दुई वटा सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो । सिंहदरबारको पश्चिम र दक्षिण गेटको फुटेज माग गरेको समितिले जनाएको छ ।
समितिले जेठ १४ गते दिउँसो १२ बजेदेखि २४ घण्टाभित्रको फुजेट माग गरेको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिनुभएको थियो ।
सोही दिन प्रतिनिधिसभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्